कोरोना संक्रमणबाट नेपालमा प्रत्येक दुई घण्टामा एकको मृत्यु, १२ दिनमा ८१ जनाले ज्यान गुमाए



काठमाडौँ भदौ १३ ।

नेपालमा कोरोना भाइरसको सङ्क्रमण मात्र होइन मृत्युदर पनि बढेको छ ।

कोरोनाबाट शुक्रबार मात्रै १२ जनाको मृत्यु भएको छ । कोरोनाबाट दैनिक मर्नेको सङ्ख्या अहिले सम्मकै धेरै हो । शुक्रबारको तथ्याङ्क हेर्ने हो भने प्रत्येक दुई घण्टामा नेपालमा एक कोरोना सङ्क्रमितको मृत्यु भइरहेको छ ।

भदौ महिना शुरु भएयता १२ दिनमा कोरोनाबाट ८१ जनाले ज्यान गुमाइसकेका छन् । कोरोना सङ्क्रमणबाट बिहीबार नौ तथा बुधबार ११ जनाले ज्यान गुमाएका थिए । भदौ यता शुक्रबार सम्ममा कोरोनाबाट एक दिनमा औसतमा झण्डै सात जनाको ज्यान गएको छ । कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या दैनिक बढ्ने देखिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार साउनमा कोरोना मृत्यु दर नेपालमा सून्य दशमलव ४ प्रतिशत थियो । भदौ लागेपछि मृत्यु दर बढेर सून्य दशमलव ५ प्रतिशत पुगेको छ । कोरोनाका कारण साउन ३२ गते सम्ममा नेपालमा १०४ जनाले ज्यान गुमाएका थिए । शुक्रबार सम्ममा उक्त सङ्ख्या बढेर १९५ पुगेको छ । मर्नेमा महिला २६ प्रतिशत अर्थात् ५१ तथा पुरुष ७४ प्रतिशत अर्थात् १४४ जना रहेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबारसम्म कोरोनाबाट पर्सा ३३, काठमाडौँ १८, मोरङ १६, धनुषा १३, बारा १२, बाँके र रुपन्देही सात–सात, कैलाली, सप्तरी, सुनसरी, चितवन र सिरहा पाँच–पाँच, सर्लाही, महोत्तरी, कपिलवस्तु, मकवानपुर, भक्तपुर र कास्की चार–चार, रौतहट, ललितपुर, गुल्मी र सिन्धुपाल्चोक तीन–तीन, अछाम, सुर्खेत, झापा, स्याङ्जा, काभ्रेपलाञ्चोक र दोलखा दुई–दुई तथा दैलेख, दाङ, बाजुरा, पाल्पा, प्यूठान, अर्घाखाँची, बर्दिया, बझाङ, बागलुङ, तनहुँ, नवलपरासी पश्चिम, धादिङ, गोर्खा, उदयपुर, म्याग्दी र डोल्पामा एक–एक जनाको मृत्यु भएको छ ।

शुक्रबारसम्म देशभर ६ लाख ५८ हजार ११० जनाको पिसिआर परीक्षण गरिएको छ । प्रवक्ता गौतमका अनुसार हाल नेपालमा सङ्क्रमितको सङ्ख्या ३६ हजार ४५६ रहेको छ । तीमध्ये आइसोलेसनमा १६ हजार १९ सङ्क्रमित रहेका छन् । हालसम्म २० हजार २४२ जना कोरोना निको भएर घर फर्किएका छन् । निको हुने सङ्क्रमितको सङ्ख्या ५५ दशमलव पाँच प्रतिशत रहेको छ । देशभर शुक्रबारसम्म आठ हजार ९३९ जना क्वारेन्टिनमा छन् ।

पछिल्लो समय काठमाडौँ उपत्यका कोरोनाको ‘हटस्पट’ बन्दै गएको छ । केही हप्ता यता यहाँ सङ्क्रमितको सङ्ख्या अत्यधिक बढेको छ । काठमाडौँ महानगरपालिका, कीर्तिपुर, मनोहरा कागेश्वरी र चन्द्रागिरि नगरपालिका कोरोनाबाट बढी प्रभावित छन् । शुक्रराज सरुवा रोग तथा ट्रपिकल अस्पतालका डा शेरबहादुर पुन साउनमा लकडाउन खुलेसँगै बाहिरी जिल्लाबाट आउने व्यक्तिको परीक्षण र व्यवस्थापन गर्न नसक्दा कोरोना सङ्क्रमित बढेको बताउँछन् ।

बाहिरी जिल्लाबाट आउनेलाई काठमाडौँमा क्वारेन्टिनमा राख्न सकिएन भने उनीहरुको पिसिआर परीक्षण पनि हुन नसकेको पुनको बुझाइ छ । बाहिरबाट आएका धेरैजसो सङ्क्रमित लुकेर समेत बसेको पाइएको छ । काठमाडौँ उपत्याकाको जनघनत्व अत्यधिक हुँदा कोरोना सङ्क्रमण दिन प्रतिदिन फैलिँदै गएको छ । अब परीक्षणको दायरा फराकिलो बनाउनुपर्ने चिकित्सक बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्