२ सय ३८ दिनदेखि आमरण अनशनरत टर्कीकी मानवअधिकारवादी वकिलको निधन



काठमाडौं भदौ १५ । निष्पक्ष सुनुवाइको माग गर्दै २ सय ३८ दिनदेखि आमरण अनशनरत टर्कीकी मानवअधिकारवादी वकिल इब्रु टिमटिकको निधन भएको छ ।

४२ वर्षीया कुर्दिस वकिल इब्रुको इस्तानबुलस्थित अस्पतालमा बिहीबार निधन भएको टर्कीको प्रोग्रेसिभ लयर्स एसोसिएसनले जानकारी दिएको छ । तर उनको मृत्युको जानकारी भने शुक्रबार मात्र सार्वजनिक गरिएको थियो । इब्रुको मृत्युलाई अन्तर्राष्ट्रिय मानवअधिकारवादी संगठनहरूले टर्किस न्यायप्रणाली र सरकारले गरेको हत्याको आरोप लगाएका छन् ।

इब्रुसहित थप १७ जनालाई टर्किस सरकारले आतंकवादी समूहको सदस्य रहेको आरोपमा पक्राउ गरेको थियो । उनीहरूलाई गैरकानुनी घोषित रिभोलुसनरी पिपुल्स लिबरेसन पार्टी फ्रन्ट (डिएचकेपी–सी) समूहसँग सम्बद्ध भएको आरोप लागेको थियो । यो संगठनलाई टर्की सरकारले आतंकवादी संगठन घोषित गरेको छ । यो संगठनलाई टर्की, संयुक्त राष्ट्रसंघ र युरोपेली युनियनले आतंककारी घोषणा गरेका छन् ।

सेप्टेम्बर सन् २०१७ मा उनलाई पक्राउ गरिएको थियो । इब्रु र उनका साथीहरूलाई अदालतले सुरुमा रिहा गर्ने फैसला गरेको थियो । रिहा गर्ने फैसला गरेको २४ घन्टा नबित्दै बेनामी साक्षीको बयानका आधारमा उनीहरूलाई फेरि पक्राउ गरियो । गत वर्ष २०१९ को मार्चमा उनीहरूलाई १७ वर्ष ६ महिना जेल सजाय सुनाइएको थियो । यसरी आफू र आफ्ना साथीमाथि अन्यायपूर्ण फैसला गरिएको भन्दै निष्पक्ष सुनुवाइ हुनुपर्ने माग गर्दै इब्रुले २ जनवरी २०२० मा आमरण अनशन सुरु गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्