वीर अस्पतालका १३ कर्मचारीलाई कोरोना संक्रमण, दुई दिन आकस्मिक बाहेकका सेवा बन्द हुने



काठमाडौं भदौ १६ । वीर अस्पतालका नर्ससहित थप १३ जना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनले संक्रमितहरूमा नर्स र सरसफाइका कर्मचारी रहेको जनाए। संक्रमितहरूको पूरा विवरण भने आउन बाँकी रहेको उनले बताए। मंगलबार १३ जना संक्रमित थपिएसँगै अस्पतालमा संक्रमित हुनेको संख्या ७१ पुगेको छ।

ठूलो संख्यामा संक्रमित देखिएपछि बुधबारबाट लागू हुने गरी दुई दिन अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द रहने डा. सेन्चुरीले जनाए। कुल ७१ जना संक्रमितहरूमा चिकित्सक, नर्स, ल्याब प्राविधिक, सरसफाइका कर्मचारी र चालक रहेको उनले बताए।

संक्रमितहरू कतिपय होम आइसोलेसनमा रहेको र बाँकी भने होटलमा पनि राखिएको डा. सेन्चुरीले बताए साथै घरमा बस्न मिल्नेहरूलाई होम आइसोलेसनमा बस्न भनिएको छ। केहीलाई अस्पतालमै राखिएको छ भने केहीलाई होटलमा पनि राखिएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्