पर्यटकीय सम्पदा बेलढुङ्गा छियाछिया



काठमाडौं भदौ २२ । धौलागिरि क्षेत्रको प्रकृति दर्शनका लागि उत्कृष्ट स्थल मानिएको बेलढुङ्गाको चट्टान फुटेर छियाछिया भएको छ ।

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका–३ धम्जाको शिरमा अवस्थित पर्यटकीयस्थल बेलढुङ्गा आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रकृति दर्शनको उत्कृष्ट स्थान बनेको थियो । शनिबार राति बेलढुङ्गाको चट्टान फुटेर पहिरो गएपछि पर्यटकीयस्थलको सौन्दर्य गुमेको हो ।

२०७२ वैशाखको विनाशकारी भूकम्पबाटसमेत जोगिएको चट्टानलाई केन्द्रित गरी भकिम्ली र बागलुङको धम्जाबीच बेलढुङ्गामा विकासका पूर्वाधार निर्माण गर्न होडबाजी नै चलेको थियो । अक्करे भीरमा बुट्यान र लहरामा झुण्डिदै बेलढुङ्गाको फेददेखि शिरसम्म पुग्न निकै दुःख हुने गरेको अवस्थामा सुविधायुक्त सिँढी (पदमार्ग) बनेपछि आन्तरिक पर्यटकको समेत घुइँचो लाग्ने गरेको थियो ।

समुद्री सतहदेखि दुई हजार ६१८ मिटरको उचाइमा रहेको बेलढुङ्गाबाट अन्नपूर्ण र धौलागिरि रेञ्जका १२ ओटा हिमशृङ्खला, म्याग्दी नदी, कालीगण्डकीसहित म्याग्दी र बागलुङ जिल्लाका खोला तथा झरनाको नागबेली दृश्य, साविकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका तीन दर्जन बढी गाउँहरु, वनजङ्गल, जङ्गली जनावर र पक्षीका साथै सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्