वाग्मती प्रदेश : कृषि पर्यटन प्रवर्द्धन लागि होमस्टे



चितवन भदौ ३० । ।जिल्लाको माडीमा सामूहिक खेती गरिएको क्षेत्रमा कृषि पर्यटन प्रवद्र्धनका लागि ‘होमस्टे’ निर्माण तीव्र पारिएको छ ।

माडी नगरपालिका–८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्थाले सामूहिक खेती गरिएको ठाउँमा १०० जना क्षमताको होमस्टे निर्माण गरेको हो । सहकारीका प्रबन्धक शिवजी गायकका अनुसार सो संस्थाले त्यहाँका ८६ घर परिवारको जग्गा एकीकृत गरी सामूहिक खेती गरेको छ । जसमध्ये घर आवश्यक भएका ५० परिवारलाई पक्की घर बनाएर त्यही होमस्टे सञ्चालन गर्न लागिएको हो । उनीहरुका घरमा चार कोठा हुने छन् । जसमध्ये शौचालयसहितको एउटा कोठा होमस्टे हुनेछ ।

दश वटा घर अन्तिम चरणमा पुगेको छ । गायकका अनुसार २८ वटा घरको झ्याल ढोका हालिँदै छ भने १२ वटा घर निर्माणका लागि जग खन्ने काम शुरु भएको छ । अन्तिम चरणमा पुगेका १० घरमा प्लाष्टर गर्न मात्र बाँकी छ । निषेधाज्ञाका कारण काममा ढिलाइ भएको हो । ती सबै घर जग्गावालाको आफ्नै जमिनमा निर्माण गरिँदै छ । घर निर्माणका लागि वाग्मती प्रदेशले एउटा घरको रु तीन लाख र माडी नगरपालिकाले रु एक लाख ५० हजार घरधनीलाई सहयोग गरेको छ ।

बाँकी श्रमदान आफैँले गर्नुपर्ने हुन्छ । गायकले भने, “उहाँहरुलाई कच्ची घरबाट पक्कीमा बसेर त्यहीभित्र रोजगारीका साथै व्यवसाय गर्ने अवसर मिल्ने छ ।” यही माघ, फागुनसम्ममा घर निर्माण सम्पन्न गरेर होमस्टे सञ्चालनमा ल्याइने सहकारीका अध्यक्ष इन्द्रबहादुर पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्