पोखराका पर्यटन व्यवसायी उत्साहित



पोखरा असोज ४ । यहाँका पर्यटन व्यवसायीमा केही उत्साह थपिएको छ ।

मुलुकको आन्तरिक हवाई उडान सोमबारदेखि नियमित सञ्चालन हुने भएपछि व्यवसायीहरु उत्साहित भएका हुन् । कोभिड–१९ महामारीका कारण विगत ६ महिनादेखि हवाई सेवा बन्द अवस्थामा छ ।

नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले लामो समयको बन्दाबन्दीपछि सञ्चालनमा आउन लागेको हवाई उडानले व्यवसायीमा उत्साह थपेको बताए । उनका अनुसार पोखरामा हाल संस्थामा आबद्ध ट्राभल्स एजेन्सी १८१ र पर्यटक यातायात व्यवसायी ८६ छन् । त्यस्तै ट्राभल्स एजेन्सीमा एक हजार १२ तथा यातायाततर्फ ६५३ जनाले रोजगारी प्राप्त गरेका छन् ।

करीब रु तीन अर्ब लगानी भएको यस क्षेत्रमा सानाठूला गरी ४०० पर्यटकीय सवारी साधन छन् । यही असोज १ देखि पोखराका दैनिक दुई पर्यटकीय बस पोखराबाट छुटेका छन् । अहिले यात्रुको सङ्ख्या जम्मा १० देखि १५ प्रतिशतमात्र रहेको उनको भनाइ छ ।

फस्ट फ्लाइट ट्राभल प्रालिका सञ्चालक जीवनराज सापकोटाले आन्तरिक उडान सञ्चालन हुन थालेपछि बुकिङ आउन थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्