अफगान सरकार शान्ति वार्ताप्रति प्रतिबद्ध नदेखिएको तालिबानको आरोप



काबुल असोज १२ । युद्धरत प्रमुख विद्रोही समूह तालिबानले संयुक्तराज्य अमेरिका र तालिबानबीच भएको सम्झौताका शर्तहरुलाई स्वीकार्न अफगान सरकार नचाहेको आरोप लगाएको छ ।

तालिबानका तर्फबाट सहभागी वार्ता टोलीका सदस्य खैरुल्लाह खैरख्वाले आफूहरु संयुक्तराज्य अमेरिकासँग भएको सम्झौता बमोजिम अफगान सरकारसँग वार्तामा बसेको स्पष्ट गर्दै तर अफगान सरकार वार्ताप्रति गम्भीर नदेखिएको आरोप लगाएका हुन् । उनले गत फेब्रुअरी २९ मा तालिबान र संयुक्तराज्य अमेरिकाबीच भएको सम्झौतालाई मान्यता दिन अफगान सरकारले हिच्किचाइरहेको बताए ।

तालिबान–अमेरिकाबीचको सम्झौताले अन्तर–अफगान वार्ताका लागि ढोका खोलेको थियो । सम्झौता बमोजिम एकअर्काका कब्जामा र जेलमा रहेका युद्धबन्दीहरु मुक्त गरिएका थिए । केही महिनाको ढिलाइका बाबजूद अफगान सरकार र तालिबानबीच शान्तिवार्ता गत सेप्टेम्बर १२ देखि कतारको राजधानी दोहामा जारी छ । तर दुबै पक्षबीच वार्ता शुरु भएपनि अफगानिस्तानमा हिंसात्मक घटना जारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्