कोरोना संक्रमणबाट मृतकको संख्या थपिँदै, पर्सामा २ र चितवनमा १ को मृत्यु



काठमाडौं भदौ १६ । पर्सामा २ र चितवनमा १ कोरोना संक्रमणबाट मृत्यु भएको छ । वीरगञ्जमा बाराको कोल्हबी नगरपालिकाका ६० वर्षीय पुरुष र पहिचान नखुलेको अन्दाजी ६० वर्षकै पुरुषको मृत्यु भएको हो ।

बाराका पुरुषको गण्डक कोभिड अस्पतालमा र ठेगाना नखुलेका अर्का व्यक्तिको नारायणी अस्पतालमा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता बरिष्ठ चर्मरोग विशेषज्ञ डाक्टर अतुलेश चौरसियाले जानकारी दिए । बाराका ६० वर्षीय पुरुष कोरोना संक्रमण पुष्टि भएपछि भदौ १० गते नै अस्थायी कोभिड अस्पताल गण्डकमा भर्ना भएका थिए ।

पहिचान नखुलेका अर्का पुरुषको सोमबार बेलुका ८: ४५ मा मृत्यु भएको थियो । सामान्य ज्वरो र कमजोरीको समस्या रहेका उनको नारायणी अस्पतालको इर्मजेन्सी वार्डमा उपचार भइरहेको थियो ।

चितवनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा हेटौंडा उपमहानगरपालिका–१५ का ५८ वर्षीय पुरूषको सोमबार राति मृत्यु भएको हो । कलेजका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनलाई कडा खालको निमोनिया देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

भदौ १४ गते अस्पतालमा उपचारका लागि आएका ती पुरूषमा सोमबारमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्