रौतहट, इटहरी र बुटवल गरी थप ३ कोरोना संक्रमितको मृत्यु



काठमाडौं असोज १५ । रौतहट, इटहरी र बुटवल गरी थप ३ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको बुधबार बेलुकी पौने १० बजे मृत्यु भएको प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । उनका अनुसार ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिनाइ भएपछि उनलाई सुरुमा विराट मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

असोज १४ गते पीसीआर जाँच गर्दा कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानमा रिफर गरिएको थियो ।

रौतहटको ईशनाथ नगरपालिका–४ बस्ने ७४ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु नेशनल मेडिकल कलेजले सञ्चालन गरेको अस्थायी कोरोना अस्पताल (बाबा होटल आइसोलेसन)मा उपचारको क्रममा मृत्यु भएको छ ।

मेडिकल कलेजका कोभिड फोकल पर्सन डाक्टर असरफ हुसैनका अनुसार उनी मुटु रोगीसमेत थिए । असोज ९ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई कोरोना अस्पतालमा उपचारका लागि लगिएको थियो ।

यस्तै बुटवल उपमहानगरपालिका ८ का ८० वर्षीय पुरुषको बुधबार राति मृत्यु भएको छ । असोज १२ गते कोरोना संक्रमण पुष्टि भएका उनी बुधबार बिहान साढे ६ बजे अस्पताल भर्ना भएका थिए । उनको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

उनी उच्च रक्तचापका दीर्घ रोगी रहेको डा. गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्