बंगलादेशमा बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन



ढाका असोज २७ । लामो समयको विरोध प्रदर्शनपछि बंगलादेश सरकारले बलात्कारीलाई मृत्युदण्डको सजाय हुने गरी कानुन संशोधन गरेको छ ।

संशोधित कानुन राष्ट्रपतिबाट मंगलबार जारी भएपछि तत्काल लागू हुने बताइएको छ । गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो । प्रदर्शनमा विद्यार्थी, महिला अधिकारको क्षेत्रमा कार्यरत संघसंस्था तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

राजधानी ढाकामा गरिएको प्रदर्शनका सहभागीले गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गरेका थिए । अधिकारवादी संस्थाहरूका अनुसार बंगलादेशमा गत वर्ष ५ हजार ४ सय जना बलात्कारको सिकार भएका थिए ।

प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा सोमबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशमार्फत कानुन ल्याउने निर्णय गरेको हो । मन्त्री हकले अहिले संसद्को सत्र चालु नभएकाले अध्यादेश जारी गर्नुपरेको बताए ।

निर्णयको चौतर्फी स्वागत हुने अपेक्षा गरिएको छ । तर कपितय अधिकारकर्मीले बलात्कारपछि पीडित महिलाको हत्या हुने क्रम बढ्न सक्ने चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्