सिन्धुपालचोकको ग्याल्जेन पिक आरोहणको तयारी



सिन्धुपालचोक असोज २७ । जुगल गाँउपालिका अन्तरगत जुगल हिमश्रृङ्खलामा पर्ने ग्याल्जेन पिक चुचुराको आरोहण गर्ने तयारी भएको छ ।

समुद्री सतहबाट ६ हजार १५१ मिटर उचाईको उक्त चुचुरा सगरमाथा आरोही शर्मीला लामाको नेतृत्वमा सात सदस्यीय टोली सात दिने कार्यक्रमका साथ मङ्गलवार काठमाडौंबाट त्यसतर्फ प्रस्थान गर्न लागेको टोली नेतृ लामाले बताइन् । छोटो समयमा आरोहण गरेर फर्कन सकिने र पर्यटकीय सम्भावनाका साथै हिमाल आरोहण सम्बन्धी तालिमको लागि सम्भाव्यता अध्ययनको लागि समेत उक्त हिमाल रोजाईमा परेको लामाले बताइन् ।

टोलीमा अर्का सगरमाथा आरोही पेम्वा तामाङ र ६०० मिटर भन्दा माथिका हिमाल आरोहीहरु पासाङकाजी शेर्पा, आङदोर्जे शेर्पा, आङछिरीङ शेर्पा, सार्की शेर्पा र मीनबहादुर लामा रहेका छन् । एक सातामा आरोहण गर्ने लक्ष्य राखिएको छ । लाङटाङ र जुगल हिमश्रृङ्खलामा २६ टाकुरा रहे पनि जुगलमा मात्र डेड दर्जन टाकुरा पर्दछ । हालसम्म ११ वटाको मात्र नामकरण भए पनि अन्यको हुन बाँकी छ । नामकरण भएका मध्ये सवै भन्दा अग्लो ल्याङपो ग्याङ टाकुराको पश्चिम ६ हजार ९७९ मिटर उचाइको छ भने सोही नामको पुर्वी मोहडातर्फको ६ हजार ७३३ मिटर उचाइको छ । उचाइको हिसावले दोस्रोमा ६ हजार ९३३ मिटरको दोर्जे लाक्पा पर्दछ ।

अहिले अरोहण गर्न लागिएको पिक प्रथम समावेशी महिला सगरमाथा आरोही माया गुरुङको नेतृत्वमा शर्मीला थापा र मिलन लामाले पहिलो पटक २०७५ चैत २६ गते सफल आरोहण गरेका थिए । राजधानीबाट नजिक रहे पनि प्रचार प्रसारको अभावमा ओझेलमा परेको हुँदा सरकारले कम्तीमा पाँच वर्षसम्म रोयल्टी छुट दिनु पर्ने आरोही गुरुङको भनाइ छ । हाल प्रति व्यक्ति २५० अमेरिकी डलर रोयल्टी वुझाउँनु पर्ने र ६ हजार ५०० मिटर भन्दा माथिको हिमाल आरोहण गर्दा सम्पर्क अधिकृतसमेतको खर्च आफैले व्यहोनु पर्दा ज्यादै खर्चीलो भएको जिल्ला निवासी गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्