भारतमा दैनिक संक्रमितहरुको सङ्ख्यामा कमी आएको दाबी



नयाँदिल्ली असोज २७ । भारतमा दैनिक कोरोना संक्रमितहरुको सङ्ख्यामा कमी आएको छ । सरकारी अधिकारीहरुले पछिल्लो समय दैनिक ६० हजारभन्दा कम मात्रै संक्रमित हुने गरेको देखिएको बताएका छन् ।

केही समय अगाडिसम्म दैनिक ९० हजारभन्दा बढी संक्रमित हुने गरेकोमा अहिले घटेर ६० हजारभन्दा तल पुगेको हो । भारतमा एकैदिनमा संक्रमित भएकाहरुको सङ्ख्यामध्ये सवैभन्दा धेरै गत सेप्टेम्बर १७ का दिन ९७ हजार ८९४ पुगेको थियो ।

अहिले भारतमा कुल संक्रमितको सङ्या ७१ लाख ७५ हजार ८८० भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्लबार जनाएको छ ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका कारण ५५ हजार ३४२ जना संक्रमित भएका छन् भने ७०६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख नौ हजार ८५६ पुगेको छ ।

भारतमा अहिले पनि संक्रमित अवस्थामा नै रहेकाहरुको कुल सङ्ख्या नौ लाखभन्दा कम भएको निरन्तर पाँच दिन भएको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्