नेकपा नुवाकोटका नेताहरुको आग्रह- ‘धेरै बासिन्दाको लागि लाभ पुग्‍ने योजना माग्‍नुस्’



नुवाकोट असोज ३० । नेकपा नुवाकोटका नेताहरुले धेरै बासिन्दाको लागि लाभ पुग्‍ने योजना माग्‍न जनतालाई आग्रह गरेका छन् ।

म्यागङ गाउँपालिका ५ को सामरीभञ्याङमा बिहीबार आयोजित चाडपर्व लक्षित चियापान कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रममा प्रतिनिधिसभा सदस्य, प्रदेश सभा सदस्य तथा जिल्ला तहका नेताहरुले विकासका पूर्वाधारमा जोड दिँदै उक्त आग्रह गरेका हुन् । संघीय सांसद् नारायणप्रसाद खतिवडाले व्यक्ति विशेषको योजनाभन्दा पनि धेरै बासिन्दाको लागि लाभ पुग्‍ने योजना माग गर्न तथा त्यहीअनुसारको पूर्वाधार विकासको खाका बनाएर पेस गर्न सुझाव दिएका छन् ।

नेकपा नुवाकोटका सचिव रहेका सांसद खतिवडाले अति आवश्यक र नगरी नहुने योजननाको ‘संघीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’को बजेटमार्फत समेत सम्बोधनका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

वाग्मती प्रदेश सभा सदस्य एवं नेकपा नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले स्थानीय तहदेखि केन्द्रीय सरकारसँग समन्वय गरेर भए पनि जनताका लागि अति आवश्यक योजना तथा कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए । ‘प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रम’को बजेट बिनियोजनको क्रममा आफूहरुलाई बेवास्ता गरेको स्थानीयको गुनासोमा उनले त्यस्तो नगरेको स्पष्ट पारे । योजना उपलब्ध गराउने क्रममा अति आवश्यक रहेको स्थान प्रथामिकतामा राख्ने क्रममा सिङ्गो सामरीमा कम बजेट परेको भए पनि प्रदेश सरकारबाट उपलब्ध हुने योजनामार्फत एवं आगामी वर्ष भए पनि सम्बोधन गर्ने उनले आश्वासन दिए ।

साविकको सामरी गाविस र हालको म्यागङ गाउँपालिका वडा नं.५ र ६ का संयुक्त आयोजनामा भएको कार्यक्रमको नेकपाका नेताहरु बुद्धि प्रधान, शुभद्रा नेपाल, म्यागङ गाउँपालिकाको इञ्चार्ज मेघनाथ तामाङ, सहइञ्चार्ज सुपसागर तामाङ, अध्यक्ष बुद्ध लामालगायत नेताले स्थानीय तहमार्फत गाउँको विकास प्रभावकारी रुपमा नभएको तथा बजेट एवं योजना सञ्चालनमा पूर्वाग्रही गरेको गुनासो पार्टी नेतृत्वसमक्ष राखेका थिए । जवाफमा सांसदद्वयले म्यागङ गाउँपालिकाको वडा नं.५ र ६ का बासिन्दालाई पूर्वधार विकास तथा गाउँवासीको समस्या समाधानका लागि पार्टीले सम्बोधन गर्दै लैजाने बताए ।

कोरोना कहरबीच ‘चाड पर्वको शुभकामना तथा चियापान कार्यक्रम’ गरिएकोमा सामाजिक दुरी, अनिवार्य मास्क लगायतका स्वास्थ्य मापदण्ड पालना गरिएको कार्यक्रमका सभापति ‘ल’ छिरिङ तामाङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्