‘कोटगाउँ’ ओझेलमा



फाइल तस्बिर : म्याग्दीको नारच्याङ

म्याग्दी कात्तिक १४ । मगर समुदायको पुर्ख्यौली थलो कोटगाउँ ऐतिहासिक र प्राकृतिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण हुँदाहुँदै पनि ओझेलमा परेको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मा पर्ने कोटगाउँ शेरपुंजा र पाइजा थरका मगरहरुको गर्विलो इतिहास लुकेको ऐतिहासिक गाउँ हो । यही गाउँबाट यी दुई थर मगर समुदाय देशैभरि फैलिएका स्थानीय वृद्धवृद्धाहरुको भनाइ छ ।

कोटगाउँको इतिहास चार सय वर्ष पुरानो छ । चार सय वर्ष पहिले सेवा र सुन्दर नाम गरेका दुई भाइबाट शेरपुंजा र पाइजाको वंशवृक्ष झ्याङ्गिएको स्थानीय दलप्रसाद शेरपुंजाले बताए । उनका अनुसार सेवा र सुन्दर नाम गरेका दुई भाइले थर परिवर्तन गरेर एक भाइ कोट गाउँ र एक भाइ पाखापानीमा बस्न थाले । सेवा जेठा र सुन्दर कान्छा थिए । शेरपुंजा थरका ती दुई भाइमध्ये सुन्दर नाम गरेको भाइले थर परिवर्तन गरी पाइजा बने र उनी कोटगाउँबाट बसाइँ सरी पाखापानीमा गए ।

त्यसभन्दा अघि शेरपुंजा थरका मगरहरुलाई सोलीडोली चलाउन र विवाह गर्न निकै कठिन पर्दथ्यो । उनीहरुका कुटुम्बी कोही नहुँदा विवाह गर्न समस्या परेपछि गाउँमा बूढापाकाहरुको भेला बसेर सुन्दरलाई पाइजा बनाई पाखापानीमा पठाइएको कोटगाउँका ७२ वर्षीय गौबहादुर शेरपुंजाले जानकारी दिए । सुन्दर पाखापानीमा पाइजा भनेर चिनिन थाले । सुन्दर र सेवाका सन्ततिहरुको एकापसमा विवाह र सोलीडोली चल्न थाल्यो । त्यसपछि शेरपुंजा र पाइजाका बीचमा विवाह हुने चलन शुरु भयो । दुवै थरको सन्तान झ्याङ्गिदै गए । वंश विस्तार गर्नकै लागि शेरपुंजाहरुले एक भाइको थर परिवर्तन गरेर विवाह गर्ने चलन शुरु गरेका र अहिले पाइजा र शेरपुंजाका बीचमा विवाह गर्ने परम्परा बसेको गौबहादुरले बताए ।

प्रतिक्रिया दिनुहोस्