अब कान्तिबाल अस्पतालको सेवा नुवाकोट त्रिशूलीमा



नुवाकोट कात्तिक २० । त्रिशूली अस्पतालमा कान्तिबाल अस्पतालको सेवा उपलब्ध गराइने भएको छ । यसका लागि दुई अस्पताल बीचमा सम्झौता समेत भएको छ ।

सङ्घीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले जिल्ला तथा त्यसभन्दा मूनिका आधारभूत तहका अस्पतालमा विशेषज्ञ सेवा दिनुपर्ने ‘स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी कार्यविधि’ अनुसार त्रिशूली अस्पतालमा कान्तिबाल अस्पतालको सेवा उपलब्ध गराउन लागिएको हो ।

त्रिशूली अस्पतालमा हरेक मंगलबार कान्तिबाल अस्पतालको विशेषज्ञ सेवा उपलब्ध गराउन दुई अस्पतालका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । त्रिशूली अस्पतालको तर्फबाट मेडिकल सुपरिटेन्डेण्ट डा सुनिता केसी र कान्तिबाल अस्पतालको तर्फबाट निर्देशक डा कृष्णप्रसाद पौडेलले आगामी असार मसान्तसम्मको लागी विशेषज्ञ र आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौतापत्रमा हस्ताक्षर भएसँगै सहमति कार्यान्वयनमा आएको उल्लेख गरिएको छ ।

सङ्घीय तथा प्रादेशिक गरी १८ वटा अस्पतालले स्याटेलाइट क्लिनिक सञ्चालन गरी विशेषज्ञ सेवा दिनुपर्ने कार्यविधि गएको साता स्वीकृत भएसगैँ त्रिशूली अस्पतालले बालबालिकाको लागी आधारभूत तथा विशेषज्ञ सेवा उपलब्ध गराउन कान्तिबाल अस्पतालसँग सम्झौता गरिएको अस्पताललका मेडिकल सुपरिटेन्डेण्ट एंव प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. केसीले जानकारी दिए । उनको अनुसार अबदेखि हरेक साताको सार्वजनिक बिदाको दिन बाहेक मंगलबार कान्तिबाल अस्पतालको सेवा स्याटेलाइट क्लिनिक मार्फत बाल रोगसंग सम्बन्धित सेवा उपलब्ध गराइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्