पार्टीमा विवाद चर्किएपछि प्रचण्डले बोलाए सचिवालय बैठक



काठमाडौं कात्तिक २१ । पार्टी विवाद चर्किरहेको बेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सचिवालयको अनौपचारिक बैठक बोलाएका छन् । दाहालले शुक्रबार ३ बजे पार्टी कार्यालय धुम्बाराहीमा छलफलका लागि सचिवालयको अनौपचारिक बैठक बोलाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनका अनुसार पछिल्लो समय पार्टीमा देखिएका समस्या समाधानका विषयमा छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएका हुन् ।

बैठकका लागि सचिवालयका सबै सदस्यलाई खबर गरिए पनि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली भने सहभागी नहुने बालुवाटार स्रोतले बतायो ।

बिहीबार मात्रै दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्ता सकारात्मक हुन सकेको थिएन । अध्यक्ष दाहालले बैठक बोलाएर सबै समस्याको छलफल त्यहीँ गर्न अडान राखेका थिए । अर्का अध्यक्ष ओली भने बैठक अघि दुई अध्यक्षबीच समझदारी भएपछि मात्रै बैठक बोलाउने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस्