राराताल घुम्‍नको लर्को



काठमाडौं कात्तिक २८ । कोरोनाका कारण सुनसान रहेको मुगुको प्रसिद्ध पर्यटकीयस्थल रारा ताल हेर्न जानेको सङ्ख्या अहिले बढेको छ ।

दसैंतिहारमा बिदा परेका कारण रारा हेर्न जानेको सङ्ख्या बढेको हो । दशैँतिहारको बीचमा आन्तरिक पर्यटकको सङ्ख्या वृृद्धि भएको रारा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । कोरोना महामारीले करिब सात महिना सुनसान रहेको रारामा अहिले दैनिक १५० जनासम्म आन्तरिक पर्यटक सडक र हवाईमार्गबाट आउने गरेको निकुञ्जका निमित्त संरक्षण अधिकृत पदम बुढाले जानकारी दिए ।

निकुञ्जका अनुसार यस वर्षको असोज र कात्तिकमा रारामा झण्डै तीन हजार आन्तरिक पर्यटक भित्रिएका छन् । प्राय आन्तरिक पर्यटक मोटरसाइकल, जीप र हवाईमार्गबाट रारा आउने गरेको निमित्त संरक्षण अधिकृत बुढाले जानकारी दिए । रारामा घुम्न आउने पर्यटक बढेका कारण रारा विमानस्थलमा तारा, सीता र गोमा एयरलाइन्सले दैनिक पाँचदेखि सात वटासम्म सुर्खेत र नेपालगञ्जबाट उडान भर्ने गरेका छन् ।

रारा घुम्नलाई चैत, वैशाख, जेठ, भदौ, असोज र कात्तिक महिना उपयुक्त भएका कारण आन्तरिक पर्यटकको सङ्ख्या बढेको मुगु झ्यारिका रमेश रावतले बताए ।

प्रतिक्रिया दिनुहोस्