पार्टीभित्रको विवादले प्रधानमन्त्री ओलीको ओलाङचुङगोला र घुन्सा भ्रमण कार्यक्रम रोकियो



ताप्लेजुङ मंसिर २ । पार्टीभित्रको विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओलीको ताप्लेजुङका हिमाली गाउँ ओलाङचुङगोला र घुन्सा भ्रमण कार्यक्रम स्थगित भएको छ । उनले घुन्साका स्थानीयलाई सम्बोधन गर्ने कार्यक्रमसमेत थियो ।

सत्तारूढ नेकपामा बढ्दै गएको विवादका कारण प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले भ्रमण स्थगन गरेको हुन सक्ने नेकपाका जिल्ला नेताहरूले बताएका छन् ।

प्रधानमन्त्रीले ५ गते शुक्रबार नेपाल–चीन सिमाना टिप्ताला भन्ज्याङ र ओलाङचुङगोलाको सीमा सुरक्षा पोस्ट अवलोकन तथा घुन्सा फाउन्डेसनको भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । भ्रमण तयारीका लागि सदरमुकाम फुङलिङबाट मंगलबारै ओलीका समर्थक तथा सुरक्षाकर्मीहरू त्यहाँ जाने तयारीमा थिए ।

फुङलिङ नगरपालिकाप्रमुख छत्रपति प्याकुरेलको अगुवाइमा जान लागेका सयौं कार्यकर्ता ट्याक्सी काउन्टरबाटै फर्किएको यात्राको समन्वय गरिरहेका गोपाल न्यौपानेले बताए । प्रधानमन्त्रीको सचिवालयबाट कार्यक्रम स्थगनको मौखिक जानकारी आएको प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्