सौराहामा आवासीय पर्यटक कम



चितवन मंसिर ३ । दशैं बिदामा उत्साहजनक देखिएको सौराहाको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । यहाँ आएर घुम्ने र सोही दिन फर्किने पर्यटक देखिने गरेको भए पनि आवासीय पर्यटक न्यून मात्रै आएका हुन् ।

दशैँ टीकाको भोलिपल्टदेखि केही दिन आवासीय पर्यटक समेत रहेको भए पनि बिदा सकिएसँगै पर्यटक पनि घटेका हुन् । तिहारको बिदामा पर्यटक आउने अपेक्षा गरेका व्यवसायी निराश बनेका छन् । दशैँको चहलपहलसँगै अधिकांश होटल खुलेका छन् । सबै होटलमा कामदार कर्मचारी काममा आएका छन् । पर्यटक नहुँदा सञ्चालन खर्च धान्नसमेत कठिन भएको व्यवसायीले बताएका छन् ।

जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार दिनमा घुम्न आउने पर्यटक रहे पनि रात बिताउनेको सङ्ख्या निकै न्यून छ । दिनमा आउने पर्यटकले हात्ती चढ्ने, जीप सफारी गर्ने र सौराहाका रेष्टुरेन्टमा खाएर रमाउने गरेको भए पनि साँझ फिर्ता हुने गरेको उनको भनाइ छ ।

कोरोना सङ्क्रमण क्रमशः घट्दै गएमा व्यवसाय पूर्ववत् अवस्थामा फर्किने आशा व्यवसायीको छ ।

प्रतिक्रिया दिनुहोस्