नेकपा सचिवालय बैठक जारी, प्रतिवेदनमाथि छलफल



काठमाडौं मंसिर १६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक चलिरहेको प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीको सचिवालयले जानकारी दिएको छ । पार्टी मुख्यालय धुमबाराहीमा बस्न तय भएको सचिवालय बैठक सुरक्षा थ्रेट भन्दै बालुवाटारमै बसेको हो । बैठकमा कात्तिक २८ गते सचिवालयमा पेश गरेको राजनीतिक प्रतिवेदन र प्रधानमन्त्री ओलीले १३ गतेको बैठकमा फर्काएको प्रत्युत्तरबारे छलफल हुने नेताहरुले बताएका छन् ।

प्रधानमन्त्री ओलीले मंसिर १३ गते सचिवालयमा पेश गरेको प्रतिवेदनको जवाफ अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिनेछन् । नेकपाका अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सचिवालय बैठकमा पेस भएका सबै पत्र र प्रस्ताव स्थायी कमिटीमा लैजाने पक्षमा छन्। तर, प्रधानमन्त्री ओली सचिवालयमा नै छलफल गर्नुपर्ने पक्षमा छन् । नेकपाले यही १८ गते स्थायी कमिटीको बैठक र २५ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।
नेकपाको बैठकमा देशको समसायिक विषयवस्तुभन्दा पार्टीभित्र कार्यविभाजनको एजेन्डामा बढी केन्द्रित छलफल हुने देखिएको छ । पछिल्लो समय अध्यक्ष ओलीको कार्यशैलीप्रति प्रचण्ड र माधव नेपाल समूह असन्तुष्ट छन् ।

प्रतिक्रिया दिनुहोस्