गण्डकीमा धार्मिक पर्यटन पुनःउत्थान भ्रमण



कास्की मंसिर २३ । कोरोनाका कारण थलिएको पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ नेपाल पर्यटक यातायात व्यवयासी सङ्घ गण्डकी प्रदेशले सोमबारदेखि तीन दिने धार्मिक पर्यटन पुनःउत्थान परिचयात्मक भ्रमण शुरु गरेको छ ।

पर्यटन सम्बद्ध व्यवसायीका साथै सरोकारवालासहितको टोलीले नवलपुर क्षेत्रका रामग्राम, त्रिवेणीधाम, वाल्मीकि आश्रम, शाश्वत धाम, मौलाकालिका, तनहुँको देवघाटलगायतका स्थानको भ्रमण गर्ने सङ्घका अध्यक्ष बोबरजङ्ग गुरुङले जानकारी दिए । भ्रमणका क्रममा लामो समयदेखिको कोरोना कहरले धार्मिक पर्यटकीय क्षेत्रमा पारेको प्रभाव तथा आगामी दिनमा धार्मिक पर्यटनका गतिविधि चलायमान कसरी चलायमान बनाउने लगायतका विषयमा सरोकारवालाबीच छलफल गरिने उनले बताए ।

टोलीलाई पोखरामा विदाइ गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले कोरोनाका कारण प्रभावित पर्यटनलाई पुरानै लयमा फर्काउनु अहिलेको आवश्यकता भएको बताउनुभयो । कोरोना प्रभावित पर्यटनलाई आगामी दिनमा कसरी चलायमान बनाउने भन्नेतर्फ सरकार लागेको उनको भनाइ थियो ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले कोरोना कहरका बाबजुद स्वास्थ्य सुरक्षा मापदण्डलाई अपनाउँदै पर्यटन क्षेत्र चलायमान बनाउनुपर्नेमा जोड दिए । बोर्डले पर्यटन सम्बद्ध सङ्घ संस्थासँगको सहकार्यमा नयाँ गन्तव्यको खोजी गर्ने उनले बताए ।

भ्रमण टोलीलाई स्याङ्जामा स्वागत गर्दै पुतलीबजार नगरपालिकाका प्रमुख सीमा क्षेत्रीले विभिन्न पर्यटकीय गन्तव्यहरू प्रवद्र्धनको पर्खाइमा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्