गोरखामा ४५ लाखमा बुद्ध दृश्यावलोकन पार्क बन्यो



गोरखा मंसिर ३० । बारपाक सुलिकोट गाउँपालिका–१ बारपाकस्थित ताक्लेनानमा ४५ लाख रुपैयाँमा बुद्ध दृश्यावलोकन पार्क बनेको छ ।

गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक गाउँको सिङ्गो दृश्य देखिने गरी ताक्लेनानको डाँडामा पार्क बनाइएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए । “पार्कभित्र करिब पाँच फिट अग्लो बुद्ध मूर्ति राखिएको छ”, उहाँले भन्नुभयो,“ बौद्ध संस्कृति झल्कने खालका सामग्री पनि पार्कभित्र राखिएको छ ।”

पार्कमा ढुङ्गाको कलात्मक सजावटसाथ प्रयोग गरिएको उनले बताए । “बुद्धपार्कमा प्राकृतिकस्वरुप झल्किएको छ”, गाउँपालिका अध्यक्ष भट्टले भने, “बारपाक पुग्ने पर्यटकलाई अब एकैछिन भए पनि पार्कले अल्मल्याउने निश्चित छ ।”

पार्क बनाउन गाउँपालिकाले ४० लाख र वडा कार्यालयले पाँच लाख रुपैयाँ विनियोजन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्