नुवाकोटको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष सेवा थालनी



नुवाकोट पुस २ । जिल्लाको त्रिशूली अस्पतालमा सघन उपचार कक्ष सेवा सुरु गरिएको छ । अस्पतालको स्तरवृद्धि भएर ५० शय्या भएसगैँ सेवा प्रवाहमा देखिएका अभाव पूरा गर्ने क्रममा बुधबारदेखि सघन उपचार सेवा सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

आवश्यक उपकरण जडानको काम सम्पन्न भएसगैँ वाग्मती प्रदेश सरकारबाट प्राप्त दुई थान भेन्टिलेटरसहितको सेवा शुरु भएको अस्पताल विकास समिति अध्यक्ष अजुर्नप्रसाद न्यौपानेले जानकारी दिए । अस्पतालले कोभिड–१९ बाट गम्भीर बिरामीलाई पहिलो प्राथमिकता दिँदै सघन उपचार सेवा सञ्चालनमा ल्याएको जनाएको छ ।

सघन उपचार सेवा चलाउन प्रदेश सरकारको सहयोगमा अस्पतालले यसअघि नै कर्मचारी भर्ना र तालीम दिएको थियो । उपकरण जडानको काम पूरा भएसगैँ दक्षजनशक्तिमार्फत सेवा सञ्चालनमा ल्याइएको हो । विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगेको अस्पतालले पुनःनिर्माण पश्चात हाल सुविधासम्पन्न भवन, अत्याधुनिक उपकरण, विशेषज्ञ सेवा प्रवाह गरिराखेको छ । यसले नुवाकोटसहित रसुवा र धादिङको बिरामीलाई सेवालिएका छन् ।

प्रतिक्रिया दिनुहोस्