नेकपा वाग्मती प्रदेशले भन्यो, ‘जरुरी मिटिङ भनेर सचिवको नाममा दिइएको सूचना गलत र भ्रामक’



काठमाडौं पुस ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वाग्मती प्रदेश संगठन कमिटीले भोलि मंगलबार पुस ७ गते आफ्नो कमिटीको कुनै बैठक नभएको प्रस्ट पारेको छ ।

वाग्मती प्रदेशका केन्द्रीय सदस्य र प्रदेश सदस्यको जरुरी मिटिङ ७ पुसका दिन काठमाडौं तीनकुनेमा बस्ने भनी प्रदेश सचिव आनन्द पोखरेलको नाममा सूचना सम्प्रेषण भएको भन्दै प्रदेशमा बैठक बस्ने कुने पनि छलफल नभएको प्रस्ट पारिएको हो । सोमबार प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालले सूचना जारी गर्दै भनेका छन्, ‘सोही दिन पार्टीको स्थायी कमिटीको निर्णय अनुसार केन्द्रीय समितिको बैठक डाकिएको कुरा सर्वविदितै छ । यसरी भ्रम पार्ने गरी सचिवको नाममा दिइएको सूचना गलत र भ्रामक भएको कुरा जानकारी गराउँदछौं ।’

आगामी दिनमा प्रदेशका सबै विषयहरुको आधिकारिक जानकारी र सूचना प्रदेश इन्चार्ज अष्टलक्ष्मी र अध्यक्ष नारायण दाहालको नामबाट मात्र आउने जानकारी पनि सूचनामार्फत गराइएको छ ।

नेकपाको पार्टी केन्द्रको विवाद प्रदेश र जिल्ला तहमा पुगेको देखिन्छ । नुवाकोटमा पनि अध्यक्ष हिरानाथ खतिवडालाई थाहै नदिई कार्यालय सदस्य एवं वाग्मती प्रदेश सांसद बद्री मैनालीले नेकपा नुवाकोटको अगुवा कार्यकर्ता भेला सोमबार नेपालमा डाकिएको भन्दै नेकपा नुवाकोट अध्यक्ष खतिवडाले सूचना जारी गरेका थिए

हेरौं नेकपा नुवाकोटका अध्यक्ष खतिवडाको सूचना

जानकारीको लागी ।
यही पौष ६ गते काठमाडौमा नेपाल कम्युनिस्ट पार्टी नेकपा जिल्ला संगठन कमिटी नुवाकोटले कुनै अगुवा कार्यकर्ता भेला प्रशिक्षणको आयोजना गरिएको छैन । नेकपा नुवाकोटले पार्टी एकता सुदृढीकरण तथा पार्टी विस्तारका लागि उपयुक्त समयमा नुवाकोटको विदुरमै भेला तथा प्रशिक्षण कार्यक्रम राख्ने ब्यहोरा नुवाकोटका सबै पार्टी सदस्य , समर्थक एवं शुभेच्छुकहरुमा हार्दिकताका साथ जानकारी गर्दछु ।
हिरानाथ खतिवडा अध्यक्ष नेकपा नुवाकोट

तर मैनालीले पछि भेला स्थगितको सूचना आइतबार निकालेका थिए । हेरौं

सम्पूर्ण कमरेडहरुमा हार्दिक अभिवादन सहितको ,जानकारी सम्बन्धमा
भोली २०७७ पौष ६ गते नेपालटार एबी पार्टी प्यालेस राखिएको नेपाल कम्युनिस्ट पार्टी नेकपा नुवाकोटको काे अगुवा नेता कार्यकर्ता भेला पछिल्लो बिकसित घटना क्रमकाका कारण केहि समयपछि गर्ने गरि हाललाई स्थगन गरिएको सबै कमरेडहरुमा हार्दिक अभिवादन सहित जानकारी गराउँछौं।
कमरेड बद्री मैनाली कार्यलय सदस्य ,
नेकपा नुवाकोट

प्रतिक्रिया दिनुहोस्