ओलीलाई पार्टीबाट निष्काशन गर्नुपर्छ : नेकपा नेता गणेशमान पुन



काठमाडौं पुस ६ । पूर्वसांसद गणेशमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई केन्द्रीय सदस्य र पार्टीबाटै निष्काशन गर्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा उनले भने,‘प्रधानमन्त्रीबाट असंवैधानिक र अलोकतान्त्रिक कदम चालिएकाले केन्द्रीय सदस्य र पार्टी सदस्यबाट समेत निष्काशन गर्नुपर्छ ।’

ओलीमाथि कारबाही गरी नेकपालाई एकतावद्ध बनाएर जानुपर्ने बताए । संसद् बिघटनलाई गैरसंवैधानिक भन्दै संसद पुन:स्थापित हुनुपर्ने तर्क गरे ।
ओलीको कदमलाई प्रतिगामी भन्दै देश र जनतामाथि धोका दिएको आरोप लगाए । उनले प्रधानमन्त्री ओलीले मूर्ख कदम चालेको आरोप लगाए । उनले भने,‘यसविरुद्ध आन्दोलनका रुपमा जानुपर्छ ।’

नेकपा नेता तथा बिघटित प्रतिनिधिसभाका सांसद खेम लोहनीले राष्ट्रलाई जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेको तर्क गरे । नेकपाभित्रको ग्याङ अफ फोरले कामै गर्न नदिएको र षड्यन्त्रहरु गरेको भन्दै उनीहरुले नै प्रधानमन्त्रीलाई संसद बिघटनका लागि वाध्यकारी अवस्था सृजना गरेको बताए । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठतर्फ संकेत गर्दै लोहनीले भने,‘ग्याङ अफ फोरले खतरनाक कदम चाल्न वाध्य पारे ।’
उनले प्रतिनिधिसभाको बिघटन खतरनाक बाटो भएपनि त्यो अवस्थामा पुर्‍याउने जिम्मेवार भएको बताए । लोहनीले भने,‘संसद बिघटन वाध्यकारी कदम हो, यो वास्तवमा राष्ट्र, लोकतन्त्र,सार्वभौम जनतालाई जोगाउन र विदेशी अगाडि नझुकी देशको प्रतिष्ठाका लागि हो ।’ निरंकुशताको दाउ खेल्नेहरुको षड्यन्त्र बुझेर प्रधानमन्त्री ओलीले कठोर कदम चालेको बताए । प्रधानमन्त्रीको कदमलाई संवैधानिक भने । ताजा जनादेशका लागि प्रधानमन्त्री जनताको बीचमा जान तयार हुनुभएको बताउादै भने,‘अब जनताबाट ताजा जनादेश लिन सबैलाई अवसर छ ।’ लोहनीले सुर्य चिन्ह लिएर चुनावमा जाने र जनादेश प्राप्त गर्ने दाबी गरे ।

नागरिक अगुवा सुन्दरमणि दिक्षितले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अधिकार सर्वोच्च अदालतलाई बुझाइदिएको तर्क गरे । उनले भने,‘अविश्वासको प्रस्तावको सामना गर्न डराएर ओलीले अधिकार सर्वोच्च अदालतलाई बुझाइदिए ।’ प्रधानमन्त्री ओलीले चालेको कदमलाई असंवैधानिक भन्दै देश संकटमा परेको बताए । उनले नेपाल कम्युनिस्ट पार्टीका सबै प्रमुख नेताहरु दोषी भएको बताए । मुख्य दोषी ओली भएपनि प्रचण्ड, माधवकुमार नेपाललगायत मुख्य नेताहरु पनि उत्तिकै दोषी भएको बताए ।

देश कोरोना भाइरसविरुद्ध संघर्षरत हुादा मध्यावधि चुनाव घोषणा गर्नु जनहित विपरितको कदम भने । उनले भने,‘अहिले मान्छे बचाउने हो, कुनै नेताको राजनीति बचाउन खर्च गर्ने बेला होइन ।’ जनता बचाउन गर्नुपर्ने खर्च चुनावमा लगाउन खोजिएको भन्दै आलोचना गरे ।

जनता समाजवादी पार्टीका नेता मनिष सुमनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुलाहाको संज्ञा दिदै तत्काल राजनीतिबाट सन्यास दिनुपर्ने बताए । संसद बिघटन असंवैधानिक भन्दै सभामुखले विशेष संसद बोलाएर राष्ट्रपतिलाई जानकारी दिनुपर्ने बताए । उनले जनता यो कदमविरुद्ध सडकमा उत्रन तयार हुने समेत बताए । प्रधानमन्त्री ओलीले कुनैपनि बेला गलत कार्य गर्ने भनी आफूहरुले विगतमै सजग गराएको बताए । उनले भने,‘यो बहुलाहा सनकी प्रधानमन्त्रीले कुनैपनि बेला खतरनाक कदम चाल्नेछन् भनी सजग गराएका थियौं तर नेकपा र कांग्रेसका नेताहरुले चासो दिएनन् ।’ कुनै एक नेताको व्यक्तिगत स्वार्थका लागि संसद बिघटन गर्ने र संविधान नै समाप्त पार्ने कदम स्वीकार्य नभएको बताए । प्रधानमन्त्री ओलीले देशमा चुनाव गर्न नसक्ने ठोकुवा गरे । ओलीलाई सबैभन्दा पहिले आफ्नै दलको महाधिवेशन गर्न चुनौती दिदै भने,‘पहिलो आफ्नो दलको महाधिवेशन गराएर देखाउनुहोस् अनि चुनावको कुरा गर्नुहोस् ।’

प्रतिक्रिया दिनुहोस्