संसद् विघटनविरुद्ध नेकपाको प्रचण्ड-नेपाल-खनाल पक्षको माइतीघरमा प्रदर्शन



काठमाडौं पुस । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल-खनाल पक्षले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । उनीहरुले संसद विघटन असंवैधानिक भएको भन्दै चर्का नाराबाजी गरेका छन् ।

‘हामी यहाँ छौं’ लेखिएको प्लेकार्डसहित अध्यक्ष पुष्षपकमल दाहाल, माधव नेपाल, नेता झलनाथ खनाललगायतका नेता–कार्यकर्ताहरुको प्रदर्शनमा व्यापक सहभागिता छ । माइतीघर मण्डलामा जम्मा भएर संयुक्त पत्रसहित निर्वाचन आयोगमा जाने र २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाको कार्यक्रम छ ।

आफूहरु आधिकारिक भएको दाबीसहित प्रचण्ड-माधव समूहले बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर यसअघि नै निर्वाचन आयोगमा बुझाइसकेको छ । साथै संसद विघटनविरुद्ध परेका रिटहरुको आज संवैधानिक इजलासमा सुनुवाइसमेत हुँदैछ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले आजबाट दैनिक रूपमा कुनै न कुनै प्रकारको विरोध गर्ने र १४ गते देशभर विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो । विरोध प्रदर्शनका लागि नेकपाले प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्