वाग्मती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता



काठमाडौं पुस १० । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेकपा संसदीय दलका नेता बुद्धिमान माझी, सांसद शालिकराम जम्मरकट्टेल लगायतको नेतृत्वमा शुक्रबार बिहान पौडेलविरुद्ध प्रदेश सभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । प्रस्तावकमा जम्कट्टेल छन् भने समर्थकमा सांसद नेपाल छन् । जम्कट्टेल र नेपालले मन्त्री पदबाट राजीनामा दिएर मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढाएका हुन् ।

४५ जना सांसदको हस्ताक्षरसहित प्रस्ताव दर्ता भएको जनाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा विभाजित भएको छ । केन्द्रको विवादपछि नेकपाका पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल पक्षका सांसदहरुले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

वाग्मती प्रदेशसभामा १ सय १० जना सदस्य रहेकामा ५६ जनाले बहुमत पुग्छ । यसअघि स्थायी राजधानी घोषणा, बजेटको समयमा समेत मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर भए पनि दर्ता भएको थिएन । ओलीपक्षका मुख्यमन्त्री पौडेल सरकार गठन भएदेखि नै अल्पमतमा छन् । मन्त्रिपरिषद्‌मा बहुमत रहे पनि संसदीय दलमा उनको बहुमत पुग्दैन । प्रदेशसभामा नेकपाका ८० जना छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २२, विवेकशील साझा दलका ३, राप्रपाका २, नेमकिपा २ र स्वतन्त्र सांसद् १ जना छन् । नेकपाका ८० सांसदमध्ये ओली पक्षका ३४ जना सांसद छन् । दाहाल–नेपाल पक्षका ४६ जना छन् ।

दुवै समूहलाई सरकार निर्माणका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेसको साथ आवश्यक पर्छ । साना दलको मतले नयाँ सरकार गठन हुने सम्भावना छैन । नयाँ सरकार गठनका लागि ५६ मत आवश्यक पर्छ । तत्कालीन एमाले संसदीय दल निर्वाचनमा पौडेल र नेत्री अष्टलक्ष्मी शाक्यबीच मतदान भएको थियो । पौडेलले ३४ र शाक्यले २४ मत पाएका थिए । प्रदेशसभामा कुल १ सय १० सिटमध्ये तत्कालीन एमाले एक्लैको बहुमत थियो । यसअघि नै नेपाल निकटका सांसदहरू अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, केशव स्थापित र पशुपति चौलागाईंले पटकपटक मुख्यमन्त्रीको दाबेदार आफू रहेको बताउँदै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्