नेकपा नुवाकोट जिल्लास्तरीय कार्यकर्ता भेला



नुवाकोट पुस १२ । नेकपा नुवाकोट (प्रचण्ड-नेपाल) पक्षको आइतबार जिल्ला भेला आयोजना गरिएको छ । केन्द्रीय नेताहरु बेदुराम भुसाल, हितबहादुर तामाङ लगायतको उपस्थितिमा भेला सुरु भएको हो । भेलामा जिल्लाका अगुवा नेता, कार्यकर्ता, स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख लगायतको उपस्थिति रहेको छ ।

भेलाको ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा गर, जनताको मताधिकार सम्मानको लागि संसद् पुनर्स्थापना गर’ नारा तय गरिएको छ ।

यही पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा दुई खेमामा विभाजित भएको छ । प्रचण्ड-नेपाल-खनाल पक्ष एकातिर देखिएका छन् भने ओली पक्ष अर्कोतिर समानान्तर कमिटी बनाएर अघि बढेका छन् । दुवै खेमाले एकले अर्को पक्ष चोइटिएर गएको टिप्पणी गरिरहेका छन् । यसको छिनोफानो भने निर्वाचन आयोगमार्फत हुनेछ ।

संसद् विघटनसँगै निर्वाचनको मिति घोषणा गरिएको छ । जसका निम्ति ओलीपक्ष निर्वाचनको कित्तामा र प्रचण्ड-नेपाल पक्ष संसद् पुनर्स्थापनाको एजेन्डामा केन्द्रित छ । उनीहरुका अनुसार
भेलामा बहुमत नेता, कार्यकर्ता सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्