लामो पुलको झिलिमिली पर्यटकको रोजाइँ



बागलुङ पुस १२ । शनिबार साँझ ७ बजेको समय आकाशमा चन्द्रमा केही माथि आइसकेको थियो । कालीगण्डकीको बहाव निरन्तर थियो । सडकमा सवारीको चापसमेत कम रहेकाले बागलुङ नगरपालिका–१ रामरेखाको ढिकमा कालीगण्डकी बगेको आवाज प्रष्टै सुनिन्थ्यो ।

बागलुङ बजार र पर्वतको सुन्दरबस्ती पाङ्का स्थानीयवासीको सहजता र पर्यटक आर्कषण गर्न बनाइएको नेपालकै लामो झोलुङ्गे पुलमा आफ्नै लयमा लच्किरहेको थियो । दिउँसो हरेक दिन भीड लाग्ने यस पुलमा शनिबारको दिन थप भीड हुन्छ । लामो पुलको सुन्दरता दिउँसोमा जति धेरै छ त्यो भन्दा धेरै रातिको समयमा देखिन थालेको छ । रातको समयमा यस पुलमा राखिएका ३०० बढी बत्तीले झिलिमिली बनाएपछि धेरैको आर्कषणको केन्द्र बनेको छ ।

“पारीबाट हेर्दा बारी र बारीबाट हेर्दा पारी, कस्तो सुन्दर दृष्य देखिएको छ ” पोखराबाट बागलुङ घुम्न आएका पोषण शर्मा भन्छन्, “दिनभर वारिपारी गरियो, रातमा फोटो खिच्नकै लागि भए पनि फेरि पुल तरियो ।” बागलुङ सदरमुकामदेखि पर्वतको पाङ जोड्ने यस पुलले यात्रीलाई सहज मात्र बनाएको छैन, आर्कषण पनि थपेको छ । यहाँबाट धौलागिरि हिमाल स्पष्ट देखिन्छ । त्यस्तै मालढुङ्गादेखि बागलुङ आउने र बेनी जाने सडकका यात्रीले पनि सो पुलको आर्कषण देख्न सक्छन् ।

दिउँसोमा चासो नराखेका यात्रीले रातको समयमा झिलिमिली देखेर आर्कषित भएको आन्तरिक पर्यटक बताउँछन् । बिजुली राखेकोले पुलले रातको समयमा आर्कषण बढाएको हो । लामो पुलले बागलुङका होटल व्यवसायमा पनि राम्रो प्रभाव परेको होटल सङ्घका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्