कञ्चनजङ्घामा आन्तरिक पर्यटकको चहलपहल



ताप्लेजुङ पुस १४ । फुङ्लिङकी मनिषा तामाङलाई नजिकबाट कञ्चनजङ्घा हिमाल आधार शिविर पुग्ने रहर सानैदेखि थियो । पढाइ र घरायसी कामका कारण जान पाएकी थिइनन् । यस वर्षको दशैँ बिदामा उनले त्यो रहर पूरा गरिन् ।

“पहिले त हिमालमा विदेशी मात्रै जान्छन् जस्तो लाग्थ्यो तर त्यस्तो होइन रहेछ”, उनले भनिन्, “आफ्नै जिल्लामा रहेको विश्वको तेस्रो अग्लो हिमालको फेदमा पुग्दा निकै खुशी लागेको छ ।” कञ्चनजङ्घा हिमाल, आधार शिविर, पदमार्ग, बाटामा देखिने हिमाली दृश्य आफूले सुनेभन्दा निकै राम्रो लागेको उनको अनुभव छ । मनिषा मात्रै होइन पछिल्लो एक महिनामा ७० भन्दा धेरै जिल्लावासी कञ्चनजङ्घा आधार शिविर पुगेर फर्किएका छन् । सय हाराहारी यात्रामा छन् । कोहिले भने जाने योजना बनाउँदै गरेको आधार शिविर प्रवेशद्वार घुन्साका व्यवसायी धार्के शेर्पाले बताए ।

“अघिल्लो वर्षहरुमा नेपाली खासै आउँदैनथे । त्यसमा पनि घुम्नैका लागि भनेर ताप्लेजुङ्गे आएको मलाइ थाहा थिएन”, उनले भने, “अहिले जिल्लाकै मानिस धेरै आइरहेका छन् ।” विदेशी पर्यटक नआएको समयमा आन्तरिक पर्यटकले भए पनि आफूहरुलाई केही राहत भएको उनको भनाइ छ । विदेशी भने एक जना अमेरिकी र एक जना चिनियाँ मात्रै गएको उनले सुनाइन् ।

कोरोना माहामारीका कारण सरकारले लकडाउन गरेपछि विदेशी र स्वदेशी पर्यटकले घुम्न पाएनन् । पर्यटकीय क्षेत्रका होटल/पसल पनि बन्द भए । चैतयता पर्यटकीय गतिविधि ठप्प नै भयो । अहिले माहामारीकै अवस्था रहे पनि जिल्लाका पर्यटकीयस्थलमा चहलपहल बढेको छ । आन्तरिक पर्यटकले भए पनि केही आशा जगाएको कञ्चनजङ्घा आधार शिविरमा पर्ने ग्याब्लाका पासाङ शेर्पाले बताए ।

पदमार्गमा पर्ने सेकाथुम, जापानटार, आम्जिलेसा, ढाङ्ग्याम, ग्याब्ला, फले, घुन्सा, खम्वाचेन, लोनाक, चेइराम, सेलेले, ओक्तान र तोरोङ्देनका स्थानीयवासी हिमाल घुम्न आउने पर्यटकमै आश्रित छन् । पर्यटक नआएपछि आफूहरु मारमा परेको फलेका नोर्बु शेर्पाले बताए । सिरिजङ्घा गाउँपालिकामा पर्ने आठ हजार ५८६ मिटर अग्लो कञ्चनजङ्घा हिमालका दुई आधार शिविर छन् । पाङ्पेमा रहेको उत्तरी आधार शिविर हो । यहाँबाट हिमाल हेर्न मात्रै सकिन्छ । हिमाल चढ्ने दक्षिणी आधार शिविर ओक्तानबाट हो ।

प्रतिक्रिया दिनुहोस्