संविधान विघटनबारे देउवा भन्छन्- आन्दोलनमार्फत् यसो गर, उसो गर, भन्दै धम्क्याउनु तर्साउनु उचित हुँदैन



काठमाडौं पुस १६ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संसद विघटन गरी चुनाव घोषणा गरेर असंवैधानिक काम गरेको भन्दै यो मुद्दा अदालतमा विचाराधीन रहेकाले अदालतको फैसला कुर्नुपर्ने बताएका छन् ।

‘हामीले अदालतको विचाराधीन मुद्दामा प्रभाव पार्ने किसिमले आन्दोलनमार्फत् यसो गर, उसो गर, भन्दै धम्क्याउनु तर्साउनु उचित हुँदैन । अदालतको निर्णयलाई पनि पर्खिनुपर्छ भनेर हामीले भनेका छौं’ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा कांग्रेस सूचना, सन्चार तथा प्रचार विभागले बिहीबार आयोजना गरेको भर्चुअल कार्यक्रममा सभापति देउवाले भने ।

प्रधानमन्त्री ओलीले असंवैधानिक काम गरेको देउवाको टिप्पणी थियो । ‘ओली जीले अचानक चुनाव घोषणा गरेर असंवैधानिक काम गर्नु भएको छ । देशभरि नै हाम्रो पार्टीले यो कदमको विरुद्धमा आवाज उठाइरहेको छ । आफ्नो निर्वाचन क्षेत्र लगायत देशभरि नै हामीले आफ्नो परिस्थिति बनाइरहेका छौं ।’ उनले प्रजातान्त्रिक तरिकाले, लोकतान्त्रिक तरिकाले र अहिंसात्मक तरिकाले अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्