नुवाकोट ककनी-कुटुमसाङ निर्माणाधीन पदमार्गलाई गोसाइँकुण्ड जोड्न सम्भाव्यता अध्ययन



नुवाकोट पुस २६ । नेपालको केन्द्रीय राजधानी काठमाडौंबाट नजिकको पर्यटकीय गन्तब्य नुवाकोटको ककनीबाट-सूर्यचौर, चिसापानी हुँदै कुटुमसाङसम्मको निर्माणाधीन पदमार्गलाई माङगेनगोठ, ठाडेपाटी हुँदै रसुवाको गोसाइँकुण्ड जोड्नका लागि सम्भाव्यता अध्ययन भएको छ ।

नुवाकोटबाट निर्वाचित संघीय सांसद हितबहादुर तामाङ र वाग्मती प्रदेश उपसभामुख राधिका तामाङको समन्वयमा पर्यटन विभागले यसको अध्ययन गरेको हो । शनिबार सांसद तामाङ र उपसभामुख तामाङसँगै विभागका महानिर्देशक रुद्रसिं तामाङ र इन्जिनियरसहितको टोलीले नुवाकोट र सिन्धुपाल्चोक सीमानामा पर्ने कुटुमसाङदेखि माङगेनगोठ, ठाडेपाटी हुँदै कसेरी पुगेर उक्त मार्गलाई गोसाइँकुण्डसम्म जोड्न सम्भाव्यता अध्ययन गरेको हो ।

नुवाकोट बृहत् पर्यटकीय संभावना बोकेको जिल्ला भएकोले यसलाई व्यवस्थित गर्न र थप संभावनाहरुलाई उजागर गर्न आफूहरु लागि परेको पूर्वमन्त्रीसमेत रहेका सांसद तामाङले बताए । नुवाकोटको पर्यटकीय क्षेत्रहरुलाई जोड्ने यस पदमार्गलाई रसुवाको पवित्र धार्मिकस्थल गोसाइँकुण्डसम्म विस्तार गर्ने लक्ष्यका साथ अध्ययन थालेको’ उनले भने ।

यस्तै उपसभामुख राधिका तामाङले यस क्षेत्रलाई प्राङ्गारिक कृषि–पर्यटनको हब बनाउनका लागि आफू कृषि राज्यमन्त्री हुँदादेखि नै प्रयास गरेको र यो पदमार्गले त्यसका लागि आधार तयार पारेको बताइन् । ‘विश्वको दुर्लभ बन्यजन्तु रेडपाण्डा पनि यसै क्षेत्रमा पाइने भएकोले यसको संरक्षण र पर्यटकहरुका लागि सहज अवलोकनका लागि ‘रेडपाण्डा पार्क’ बनाउने अवधारणासहित केही समय अगाडि मैले स्थलगत भ्रमण गरी संभाव्यता अध्ययन गरेको हुँ’, उपसभामुख तामाङले भनिन् ।

ककनीबाट सुर्यचौर, चिसापानी हुँदै कुटुमसाङसम्मको ६४.५ किलोमिटर पदमार्ग निर्माणका लागि साँढे पाँच करोड बजेट विनियोजन भई टेन्डर प्रक्रिया भइसकेको पर्यटन विभागका महानिर्देशक रुद्रसिं तामाङले बताए । आव २०७५/७६ प्रदेश सरकारबाट २० लाखरुपैयाँ विनियोजन भई डीपीआर र केही निर्माणका काम भएको उक्त पदमार्गमा आव २०७६/७७ पाँच करोड बजेट छुट्याइएको थियो ।

पदमार्ग प्रभावित क्षेत्रमा प्राङ्गारिक कृषि प्रवर्द्धनका लागि संघीय सरकारको कृषि मन्त्रालयबाट प्रदेशमा ससर्त पठाएको उक्त रकम कोरोना महामारीका कारण कार्यन्वयन हुन नसकी फ्रिज भएको थियो । आफूले धेरै मिहेनत गरी प्राप्त भएको बजेड कार्यान्वयन हुन नसकेकोमा दुःख लागेको भन्दै उपसभामुख तामाङले भनिन्, ‘निकै धाएर आएको रकम कार्यान्वयन हुन सकेन तर, पदमार्ग बनाएरै छाड्ने अठोटसहित तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराई र सहसचिव रुद्रसिं तामाङलाई भेटेर कुरा गरेपछि विभागबाट सम्बोधन भयो, योजानाले निरन्तरता पाउने भएको छ ।’

प्रतिक्रिया दिनुहोस्