सुनचाँदीको भाउमा गिरावट, सुन तोलामा ३६ सय रुपैयाँले घट्यो
काठमाडौं,असार १० । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको भाउ प्रतितोला ३ हजार ६ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ५ सय रुपैयाँ कायम भएको छ।
मंगलबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। एकै दिनमा उल्लेख्य गिरावट आएपछि सुन खरिदकर्तालाई केही राहत पुगेको छ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला १ सय ५ रुपैयाँले घटेर ४ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ कायम रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्यमा आएको उतारचढावको प्रभाव नेपाली बजारमा पनि परेको व्यवसायीहरूले बताएका छन्।

