पर्यटन मन्त्रालयका पाँच निकायमा २५ पदाधिकारी नियुक्त, रिक्त पदमा नयाँ नेतृत्व
काठमाडौं,असार २१ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका पाँच निकायमा रिक्त रहेका विभिन्न पदमा २५ जना पदाधिकारी नियुक्त भएका छन्।
मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यका अनुसार पशुपति क्षेत्र विकास कोष, नेपाल पञ्चाङ्ग निर्णायक विकास समिति, बौद्धनाथ क्षेत्र विकास समिति, पाटन दरबार सङ्ग्रहालय विकास समिति र हनुमानढोका दरबार सङ्ग्रहालय विकास समिति मा सदस्यसचिव, अध्यक्ष, कोषाध्यक्ष तथा सदस्य पदमा नियुक्ति गरिएको हो।
पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा तीर्थप्रसाद श्रेष्ठ, कोषाध्यक्षमा मीनाकुमारी श्रेष्ठ तथा सदस्यमा केदारमान भण्डारी, गङ्गासागर बानियाँ, सङ्गीताकुमारी राम, रूपा शाही बाँस्तोला र रामशोभित नायक नियुक्त भएका छन्।
यस्तै, नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको अध्यक्षमा डा. पुरुषोत्तम भट्टराई नियुक्त हुँदा सदस्यमा माधवप्रसाद लामिछाने, सिद्धिलक्ष्मी व्यञ्जनकार, सूर्यप्रसाद ढुङ्गेल र नेत्रप्रसाद अधिकारी चयन भएका छन्।
बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सम्पूर्णकुमार लामा नियुक्त भएका छन् भने सदस्यमा विशाल लामा, निर्भिक्ता थिङ लामा, सेनाङ ग्याम्जो तामाङ, रोशनकुमार श्रेष्ठ र मणिभद्र पोखरेल रहेका छन्। पाटन दरबार सङ्ग्रहालय विकास समितिको सदस्यमा शोभानानी शाक्य, सुप्रिन्स शाक्य र सन्तमान महर्जन नियुक्त भएका छन्। हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिको सदस्यमा आलोकसिद्धि तुलाधर, सरस्वती रश्मि शाक्य, मीरा महर्जन र वीरेन्द्रबहादुर मल्ल नियुक्त गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार यी पाँच निकायसहित मन्त्रालयअन्तर्गतका १७ निकायमा पदाधिकारी नियुक्तिका लागि वैशाख ३१ गते सार्वजनिक आह्वान गरिएको थियो। उक्त आह्वानअनुसार पशुपति क्षेत्र विकास कोषमा ४७६, बौद्धनाथ क्षेत्र विकास समितिमा १३४, हनुमानढोका दरबार सङ्ग्रहालय विकास समितिमा १००, पाटन दरबार सङ्ग्रहालय विकास समितिमा ९९ तथा नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा ४६ जनाको आवेदन परेको थियो।

